Province-2

विश्व सम्पदा दिवस

“विश्व सम्पदा दिवस” को अवसरमा मिति २०८० वैशाख ०५ गते(अप्रिल १८, २०२३) का दिन नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको धार्मिक आस्था र साँस्कृतिक आकर्षणको केन्द्र जानकी मन्दिरमा अभियानात्मक विशेष कार्यक्रम सञ्चालन गरिएको छ । मधेश प्रदेशको प्रमुख सम्पदाको रुपमा रहेको यस मन्दिरको परिसरमा सम्पदाको जगेर्ना गर्नका लागि आम नागरिक समुदायलाई जागरुक गराउने उदेश्यले मन्दिरमा उपस्थित भक्तजन तथा अवलोकनकर्ताहरुलाई सम्पदा संरक्षण सम्बन्धमा प्रतिबद्धता जनाउन हस्ताक्षर संकलन गरिएको थियो । “म सम्पदा संरक्षणमा प्रतिबद्ध छु” “म सम्पदाको संरक्षण गर्न सधैं उपस्थित हुनेछु” र “म सम्पदा संरक्षणमा स्थानीय सरकारलाई सघाउने छु” भन्ने ३ प्रतिबद्धता बुँदामा लगभग २०० को संख्यामा युवा, प्रौढ तथा सम्पदा संरक्षणमा रुची राख्ने व्यक्तित्वहरुले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरेका छन् । उक्त अवसरमा सम्पदा संरक्षणका लागि विभिन्न सचेतनामूलक सन्देश प्रदर्शन समेत गरिएको थियो । हस्ताक्षर संकलनबाट सम्पदा संरक्षणमा स्काउटले नियमित योगदान दिनसक्ने र सम्पदालाई आउँदो पिंढीका लागि समेत जोगाई राख्न समुदायसँग सहकार्य गर्न सकिने व्यापक सम्भावना दर्शाउन खोजिएको छ । संकलित हस्ताक्षर युक्त ब्यानर जनकपुर उपमहानगरका नगर प्रमुखलाई हस्तान्तरण गरिने छ । जनकपुर उपमहानर र प्रदेशमा रहेका अन्य सम्पदाहरुको संरक्षण, पुनर्निर्माण र पर्यटकीय दृष्टिकोणबाट सम्पदाको उचित प्रयोगका लागि स्काउट कार्यक्रम मार्फत युवा पुस्तालाई जानकार बनाई समुदायसँग समेत साझेदारी गर्न सकिने विश्वास प्रदेश स्काउट कार्यालयले लिएको छ ।

जनकपुरमा रहेको जानकी मन्दिर नेपालको तर्फबाट विश्व सम्पदा सूचीमा राखी संरक्षण गर्न प्रस्ताव पेश भई हाल युनेस्कोमा सम्भावित विश्व सम्पदाका रुपमा विचाराधीन रहेको छ । त्रेता युगमा विदेह राज्यका राजा जनकको पुत्रीका रुपमा रहेकी देवी सीताको जन्मस्थलको रुपमा प्रसिद्ध जनकपुरधाममा यो मन्दिर रहेको छ । यो मन्दिर अहिलेको स्वरुपमा १९ औं शताब्दीमा निर्माण भई विभिन्न कालखण्डमा नेपाल तथा भारतका राजपरिवारबाट पुनर्निर्माण भएको बताइन्छ । सम्पदा संरक्षण प्रतिबद्धता हस्ताक्षर संकलन तथा जनचेतना कार्यक्रममा प्रदेश अधिकृत कृष्ण प्याकुरेलको नेतृत्वमा, प्रदेश तदर्थ समितिका सदस्य, स्थानीय स्काउट समितिका संयोजक र सदस्य सहित ११ जना स्काउट स्वयंसेवीहरु उपस्थित रहेका थिए ।
यसै अवसरमा धनुषा जिल्लाको मिथिला नगरपालिकामा सञ्चालित दुई स्काउट इकाईहरुले संयुक्तरुपमा सरसफाई कार्यक्रम आयोजना गरेका छन् । नगरको ढल्केवर बजारमा आयोजना गरिएको सरसफाई कार्यक्रममा नेपाल स्काउट सहायक निर्देशक रविराज पौडेल, प्रदेश अधिकृत कृष्ण प्याकुरेल, प्रदेश सहायक रोशन कुमार यादव, मिथिला न.पा. स्थानीय स्काउट समिति संयोजक कौशिकी प्रिया, स्काउट मास्टर रामफल यादव सहित महेन्द्र स्काउट ट्रुप र जनता स्काउट ट्रुपका ४० जना स्काउटहरुको सहभागितामा रहेको थियो ।