Province-2

विभिन्न पालिकामा अभिमुखीकरण सञ्चालन

मधेश प्रदेशमा स्काउटिंग विस्तार अभियानका क्रममा विभिन्न पालिकामा समन्वय तथा अभिमुखीकरणका कामहरु सञ्चालन भइरहेको छ । सोही क्रममा धनुषा जिल्लाको मिथिला नगरपालिकाका नगरप्रमुख श्री महेन्द्र महतोसँग भेटघाट गरी नगरमा स्काउट कार्यक्रम विस्तार गर्ने विषयमा छलफल परामर्श गरिएको छ । २०८० वैशाख ५ गते, नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेल र प्रदेशका अधिकृत एवं स्थानीय संयोजक सहितको टोलीले नगरप्रमुख महतोलाई भेट गरेको थियो । आगामी आर्थिक वर्षमा स्काउट कार्यक्रमका लागि बजेट विनियोजन गर्न र यसैवर्ष पनि कुनै स्काउट कार्यक्रम आयोजना गर्ने सम्बन्धमा अनुरोध गर्दा नगरप्रमुखले नगरमा आवश्यक छलफल गरी निर्णय गर्ने बताउनुभयो । स्काउट जस्तो लाभदायी युवा अभियानमा नगरका युवा तथा बालबालिकाहरुलाई सहभागी गराउन आफुलाई आवश्यक लागेको बताउँदै नगरपालिकाबाट आफ्नो कार्यकालमा नियमित समन्वय र सहयोग हुने प्रतिबद्धता नगरप्रमुख महतोले व्यक्त गर्नुभएको छ ।

आजै सर्लाहीको हरिपुर नगरपालिकामा शिक्षा शाखासँगको समन्वयमा विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउटिंग अभियानका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । गत चैत्रमा तालिम सम्पन्न भएपश्चात विद्यालयका शिक्षकहरुले स्काउट कक्षाहरु शुरु गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुलाई पनि स्काउट कार्यक्रमको महत्वका बारेमा प्रष्ट पार्न आवश्यक देखिए अनुसार सो कार्यक्रम सञ्चालन भएको हो । प्रदेश तदर्थ समितिका सदस्य एवं मधेश प्रदेशका सदस्यता वृद्धि संयोजक श्री नारायण बहादुर कार्कीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हरिपुर नगरका १३ जना प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । नगरका प्रमुख प्रशासकीय अधिकृत श्री दिवाकर भुजेल र शिक्षा अधिकृत श्री नागेश्वर रायले औपचारिक शिक्षा सँगसँगै विद्यार्थीहरुलाई स्काउट शिक्षा पनि आवश्यक रहेका कारण विद्यालयमा स्काउट कार्यक्रम शुरु गर्न प्रधानाध्यापकहरुलाई अनुरोध गर्दै यसमा नगरपालिकाको सहयोग रहने बताउनुभएको थियो ।