Province-2

माननीय मुख्यमन्त्रीज्यूसँग भेटघाट

मधेश प्रदेश स्काउटका संरक्षक माननीय मुख्यमन्त्रीज्यूसँग स्काउटको विकास र विस्तारका लागि भेटघाट गरिएको छ । मुख्यमन्त्री मा. सरोजकुमार यादवज्यूसँग आज चैत्र ८ गते मुख्यमन्त्रीज्यूकै कार्यकक्षमा नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेल र प्रदेश अधिकृत श्री कृष्ण प्याकुरेलले भेटवार्ता गर्नुभएको हो । भेटमा यस प्रदेशमा माननीय मुख्यमन्त्रीज्यूको संरक्षकत्वमा स्काउटको विस्तार गरी प्रदेशका सबै विद्यालयहरुमा स्काउट कार्यक्रम लागू गर्ने विषयमा छलफल भएको थियो । मुख्यमन्त्रीसँग बालबालिका कार्यक्रमका साथै माननीयज्यूलाई संरक्षकको दीक्षा प्रदान गर्ने विषयमा समेत उक्त भेटमा छलफल भएको थियो । मा. मुख्यमन्त्रीज्यूले स्काउट प्रवर्द्धन गर्न सहयोग र समन्वय गर्ने बताउनुभयो । प्रदेशको नीति तथा कार्यक्रममा स्काउटका कार्यक्रमहरु सम्बन्धित मन्त्रालय मार्फत राख्ने र यसवर्षको लागि छुट्टयाइएको रकम निकासा गरिदिने समेत वहाँले बताउनुभएको छ । साथै, प्रदेशमा स्काउट सम्बन्धमा नीतिगत तहमा व्यवस्था गर्नुका साथै स्काउटको विशेष कार्यक्रम यस प्रदेशमा आयोजना गरी प्रदेशमा स्काउटको पहिचान अभिवृद्धि गर्ने सम्बन्धमा पनि मुख्यमन्त्रीज्यू सकारात्मक हुनुहन्छ ।

भेटमा मुख्यमन्त्रीज्यूलाई सहायक निर्देशक पौडेलले नेपाल स्काउट स्कार्फ अर्पण गर्दै माननीयज्यूलाई स्काउट प्रतिज्ञा, दीक्षा, स्काउट प्रणाम र स्काउटको हात मिलाउने तरिकाको बारेमा सामान्य जानकारी प्रदान गर्नुभएको थियो । आजै, प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मा. जैद आलमज्यूसँग पनि भेटघाट गरी स्काउट कार्यक्रममा आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । मन्त्रीज्यूले स्काउटको विषय वहाँको पनि विशेष चासोको विषय रहेकाले यसतर्फ ध्यान दिई नीति निर्माण र बजेट व्यवस्थापनका लागि आवश्यक कदम चालिने बताउनुभएको छ ।

मधेश प्रदेशमा स्काउट कार्यक्रमलाई विद्यालयस्तरमा पुर्याई प्रदेशका सबै बालबालिकाहरुले स्काउट शिक्षाको लाभ लिन सकुन भन्ने अभिप्रयाले प्रदेश स्काउट कार्यालयले प्रदेशका नीति निर्माता र सरोकारवालाहरुसँग समन्वय र भेटघाट बढाएको छ । स्काउट सबै उमेरका युवा, बालबालिका तथा वयस्कहरुका लागि लाभदायक रहेकाले प्रदेशमा युवा तथा बालबालिकाहरुको ठूलो जनसंख्यालाई उपयोग गरी नेपाल स्काउटको लक्ष्य अनुसार स्काउट कार्यक्रम विकास गर्न प्रदेश स्काउट लागिपरेको छ ।