स्काउट आधारभूत तालिमको समुदघाटन
March 12, 2023
मधेश प्रदेशमा स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा स्काउट आधारभूत तालिमको समुदघाटन गरिएको छ । हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पञ्जियारको प्रमुख आतिथ्यतामा आज एक समारोहका बीच तालिम कार्यक्रमको शुरुवात गरिएको हो । मेयर पञ्जियारले पानसमा बत्ती बाल्दै कार्यक्रमको समुदघाटन गरेका थिए । हरिपुर नगरपालिका तथा आसपासका क्षेत्रबाट विद्यालयका ४० जना शिक्षक शिक्षिकाहरु तालिममा सहभागी छन् । नेपाल स्काउटले सदस्यता वृद्धि अभियानमा विद्यालयमा नैं केन्द्रित भई स्काउट तालिम लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न थालेको छ ।
कार्यक्रममा मेयर पञ्जियारले पालिकाले स्काउट वृद्धिका लागि विद्यालयका शिक्षकहरुलाई अभिमूखीकरण दिई अहिले तालिमका लागि बजेट समेत छुट्टयाईएको बताए । अबका दिनमा पनि स्काउट विकासका लागि सबै सहयोग र समन्वय गर्न पालिका तयार रहेको बताएका थिए । स्काउट शिक्षा पालिकाका बालबालिका तथा युवाहरुको लागि उपयोगी रहने विश्वास व्यक्त गर्दै तालिम सफल सञ्चालनको शुभकामना पनि उनले दिए । कार्यक्रममा बोल्दै नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेलले, स्काउट सबै बालबालिकाहरुको लागि उपयोगी हुने र मधेशका युवा तथा बालबालिकाहरुले पनि यसको लाभ लिन सकुन भन्ने उदेश्यले यस प्रकारका कार्यक्रमहरुमा विशेष जोड दिई अभियान नैं सञ्चालन गरिएको बताए । साथै, स्थानीय रुपमा स्काउटको संरक्षक नगर तथा गाउँपालिकाका प्रमुखहरु रहने हुँदा वहाँहरुबाट यस्तै सहयोग प्राप्त हुँदा स्काउटको वृद्धि मात्र नभई सबै युवाहरुमा सकारात्मक भावना विकास भई अनुशासित, देशप्रेमी र समाजसेवाको भावले ओतप्रोत युवाहरु तयार हुने बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले अहिलेको समयमा स्काउट सबैको लागि आवश्यक भएको र यसको विकासको लागि बजेट व्यवस्थाका साथै आवश्यक समन्वय पालिकाले गर्ने जानकारी दिए ।
२०७९ फागुन २६ गतेबाट शुरु भएको यो तालिम चैत्र १ गतेसम्म चल्नेछ । तालिमबाट प्रशिक्षार्थी शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई स्काउट शिक्षाका लागि सहजीकरण गर्न ज्ञान तथा सीपहरु जान्नेछन जसलाई स्काउटको पद्धतिमा आधारित रही बालबालिकाहरुको उमेर समूह अनुसार तयार पारिएको विशेष पाठ्यक्रमका माध्यमबाट उनीहरुको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकास गराई असल र अनुशासित मानवको रुपमा उनीहरुलाई तयार गर्न सक्रिय भूमिका खेल्नेछन् ।
देशभर चलिरहेको स्काउटिंग विकासको दशवर्षे रणनीतिक कार्यक्रम अनुसार यो तालिम चलेको र यसै प्रकारका कार्यक्रमहरुबाट नेपालमा सबै युवाहरुलाई स्काउट शिक्षामा समाहित गरी देशविकासमा योगदान दिनसक्ने सुयोग्य नागरिक तयार गर्ने अभियानमा नेपाल स्काउट रहेको सहायक निर्देशक रविराज पौडेलले बताए । आगामी १० वर्षमा देशभरीमा स्काउट सदस्य संख्या ७ लाख बनाउने लक्ष्य लिएको स्काउटले मधेश प्रदेशमा मात्रै १ लाख पचास हजारको हाराहारीमा सदस्य बनाउने लक्ष्य लिएको छ ।