Province-2

स्काउटको दीक्षा कार्यक्रम सम्पन्न

नेपाल स्काउट मधेश प्रदेश स्काउट अन्तर्गत सर्लाही जिल्लाको हरिवन नगरपालिका सुखेपोखरीमा सञ्चालित स्काउट इकाईमा यहि फागुन २७ गते स्काउट दीक्षा कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिकाको वडा नं. १० मा पर्ने चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयमा सञ्चालन भएको स्काउट इकाईमा रहेका ८० जना स्काउटहरुको आज एक समारोह बीच दीक्षा सम्पन्न भएको हो । हरिवन नगरपालिका वडां. १० का वडाध्यक्ष शम्भु प्रसाद मैनाली प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन स्काउट इकाईका स्काउटर पुस्कर बुढाथोकीले गरेका थिए ।

विद्यालय तथा समुदायमा सञ्चालनमा रहेका स्काउट इकाईहरुमा सदस्यको रुपमा रहने स्काउट बालबालिकाहरुको एक तहको शिक्षा पूरा भएपछि उनीहरुले वायज प्राप्त गर्दा उक्त वायजको दीक्षा प्रदान गर्ने गरिन्छ । आज भएको दीक्षान्त कार्यक्रम चतुर्भुजेश्वर ट्रुपको पहिलो दीक्षान्त कार्यक्रम हो जसमा स्काउट विद्यार्थीहरुले सदस्यता वायजको दीक्षा प्राप्त गरेका थिए भने अब क्रमशः उनीहरुको सिकाइ बढ्दै र उनीहरु संलग्न भई विभिन्न कार्यक्रमहरुमा भाग लिंदै जाँदा उनीहरुले प्रत्येक ६ महिनाको अन्तरालमा माथिल्लो तहको वायज प्राप्त गर्नेछन् ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद बरालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेल विशेष अतिथि रहेका थिए भने नेपाल स्काउट मधेश प्रदेश समितिका सदस्यहरु गंगाप्रसाद मैनालीदिलीप उपाध्यायका साथै विद्यालयका शिक्षक तथा अभिभावक एवं स्काउट लिडरहरुको उपस्थिति रहेको थियो । नेपाल स्काउटको सदस्यता वृद्धि लक्ष्य अनुसार मधेश प्रदेशमा स्काउटको कार्यक्रमहरु व्यापकरुपमा सञ्चालन भइरहेका छन् । नेपालमा वि.सं. २००९ सालमा शुरु भएको स्काउट अभियान अहिले देशभर पुनर्जागरण हुने क्रममा छ । नेपाल स्काउटले सबै तहका सरकारहरुसँग सहकार्य गरी स्काउटको लागि बजेट व्यवस्थापन गर्न अनुरोध गर्नुका साथै स्काउट क्रियाकलापहरुलाई प्रोत्साहन गरी स्काउट सदस्यता वृद्धि अभियानमा रहेको स्काउटका सहायक निर्देशक रविराज पौडेलले बताए । स्काउटको दशवर्षे रणनीति अनुसार स्काउटलाई युवा तथा बालबालिकाहरुको प्रिय कार्यक्रम बनाई देशभर ७ लाखभन्दा बढी सदस्य बनाउने अभियान समेत रहेको सहायक निर्देशक पौडेलले बताएका छन् ।