Province-2

प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम

मिति २०७९ माघ २५ गते, बुधबार नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा सिरहा जिल्लाको सिरहा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ । नेपाल स्काउटको राष्ट्रिय रणनीतिक योजना अनुरुप सदस्यता वृद्धि सम्बन्धी अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । स्काउट सम्बन्धी जानकारी र यसबाट युवा तथा बालबालिकाहरुलाई पुग्ने फाइदाका विषयमा प्रकाश पारी विद्यालयमा स्काउट कार्यक्रम सञ्चालनका लागि प्रधानाध्यापकहरुलाई अनुरोध गरिएको थियो । नगरप्रमुख डा. नविन कुमार यादव, उपप्रमुख बबिता कुमारी साहका प्रमुख प्रशासकीय अधिकृतज्यूको उपस्थितिमा स्काउटको आवश्यकता सम्बन्धमा नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेलले जानकारी दिनु भएको थियो।

कार्यक्रममा मेयर यादवले स्काउटले आफ्नो नगरपालिकामा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद दिनुका साथै स्काउट विस्तारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरा ब्यक्त गर्दै स्काउटले लिएको लक्ष्यको लागि शुभकामना दिनु भयो ।
नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगरप्रमुख तथा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव, मधेश प्रदेश स्काउट संयोजक दिनेश कुमार यादव, प्रदेश अधिकृत कृष्ण प्याकुरेल सहित नगरका ४५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।