Province-2

प्रदेश तदर्थ समितिको बैठक सम्पन्न

मिति २०७९ माघ ०३ गते, मंगलबार मधेस प्रदेशका नव नियुक्त प्रदेश संयोजक श्री दिनेश कुमार यादवको अध्यक्षतामा प्रदेश तदर्थ समितिको बैठक सम्पन्न भएको छ । बैठकले मधेश प्रदेश स्काउट कार्यालयको हालसम्मको प्रगति समीक्षा गर्दै प्रदेशमा स्काउट सदस्यता बृद्धि गर्ने, बृहतरुपमा स्काउट कार्यक्रमहरु सञ्चालन गर्ने र तालिम सहितका समग्र स्काउटिंग गतिविधीलाई थप तदारुकताका साथ सञ्चालन गर्न प्रदेश समिति सदस्य, स्थानीय संयोजक एवं सदस्यता बृद्धि संयोजकहरुलाई जिम्मेवारी दिई अभियानका रुपमा परिचालन गर्ने, अन्तरप्रदेश समन्वयात्मक बैठक गर्ने लगायतका समसामयिक तथा दूरगामी महत्वका विषयहरुमा घनीभूत छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रदेश संयोजक यादवले नवगठित प्रदेश तदर्थ समितिको पहिलो बैठकमा सदस्यहरुलाई स्वागत गर्दै निर्धारित लक्ष्य प्राप्तिका लागि अभियानमा लाग्न निर्देशित गर्नुभयो । बैठकमा उपस्थित प्रदेश तदर्थ समिति सदस्यहरुले आ आफ्नो क्षेत्रबाट लक्ष्य प्राप्तिका लागि खटिई उपलब्धी हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सदस्यहरु रामचरित्र ठाकुर, गंगाप्रसाद मैनाली, नारायण कार्की, दिलीप प्रसाद उपाध्याय, बेचन राय, ईसरागन कुमारी, चन्द्रप्रकाश यादव, सरोज मण्डलको उपस्थिति रहेको बैठकमा सदस्य सचिवको रुपमा प्रदेश अधिकृत कृष्ण प्याकुरेल रहनुभएको थियो । उक्त बैठकमा नेपाल स्काउट पूर्वी क्षेत्रका सहायक निर्देशक रविराज पौडेल समेत बिशेष आमन्त्रित सहभागीका रुपमा सहभागी हुनुभएको थियो । नियमित बैठक बसी प्रगति समीक्षा गर्ने र देखिएका कमीकमजोरी सच्याई प्रदेशको स्काउटिंगलाई देशभरमा पहिलो नम्बरमा पुर्याउन सबैले साझा प्रयत्न गर्ने प्रतिबद्धता सहित बैठक समापन भएको थियो ।